२ केजी लागूऔषधसहित नलगाडका एक पुरुष पक्राउ

जाजरकोट । भेरी नगरपालिका १ रिम्ना बजारस्थित जाजरकोट डोल्पा सडक खण्डमा २ केजी ५२० ग्राम लागूऔषध (अफिम) सहित एक पुरुष पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नलगाड नगरपालिका–३ निवासी अन्दाजी ५३ वर्षीय बिष्णु बहादुर घर्ति रहेका छन् ।
सोमबार बेलुका करिब ७ बजे इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायव निरीक्षक शिउ कुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले लु १ ज ३९२६ नम्बरको जिप रोकि जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो।

बोलेरो जिप चालक बम बहादुर खत्री (जिल्ला रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–११) ले जाजरकोटको बारेकोटबाट नेपालगञ्जतर्फ गाडी लैजाँदै थिए। चेकजाँचको क्रममा सो जिपमा सवार जाजरकोट नलगाड नगरपालिका–३ निवासी अन्दाजी ५३ वर्षीय बिष्णु बहादुर घर्तिको साथमा रहेको झोलाभित्र लुकाई छिपाई राखिएको २ केजी ५२० ग्राम अफिमजस्तो देखिने लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

पक्राउ परेका घर्तिलाई जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन्।

डाँगिका अनुसार लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न नियमित चेकजाँच र निगरानीलाई अझ कडा बनाइनेछ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया