
जाजरकोट । भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक बहादुर वलीले आफ्नो ४० औं जन्मदिन विशेष तरिकाले मनाएका छन्। उनले जन्मदिनको अवसरमा उपहार पाउने परम्परालाई उल्ट्याउँदै आफैं राउटे समुदायको बस्तीमा पुगेर सहयोग वितरण गर्नुका साथै स्वास्थ्यसम्बन्धी जानकारीसमेत दिएका छन् ।
सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलामा रहेको राउटे बस्तीमा पुगेका वलीले समुदायलाई ५ हजार रुपैयाँ नगद, एक बोरा चामल, साथै गर्भवती र सुत्केरी महिलाहरूका लागि आवश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन्।
सहयोगमात्र होइन, वलीले राउटे समुदायको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य सुरक्षा, पोषण, सरसफाइ र नियमित औषधि सेवनको महत्त्वका विषयमा पनि जानकारी दिएका थिए। उनले समुदायका सदस्यहरूले भिटामिन “ए” र जुकाको औषधि लिएका/नलिएको अवस्थाको समेत अनुगमन गरेका छन्।
“अत्यधिक मदिरा सेवनले राउटे समुदायको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ,” वलीले भने, “स्वास्थ्यमा सुधार ल्याउन मदिराको लतबाट छुटाउनु जरुरी छ। यसका लागि सरकार र सरोकारवाला निकायको ध्यान आवश्यक छ।”
व्यक्तिगत उत्सवलाई सामाजिक सेवामा रूपान्तरण गर्दै वलीले देखाएको यो उदाहरणीय कार्यले समुदायमा सकारात्मक सन्देश दिएको छ। उनका अनुसार, राउटे समुदायको जीवनशैली परिवर्तन गर्न दीर्घकालीन योजना आवश्यक छ, जसमा सबै पक्षको सहकार्य अनिवार्य छ।
शाखा प्रमुख वलीको यो पहलले सरकारका प्रतिनिधिहरू, सामाजिक अभियन्ता र स्वास्थ्यकर्मीहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।







विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ २९ गते बिहिवार