जाजरकोटमा डिजिटल युगको सुरुवातः अनलाइन प्रणालीबाट पहिलो नागरिकता वितरण


जाजरकोट । जाजरकोटमा पहिलोपटक अनलाइन प्रणालीमार्फत नागरिकता वितरण कार्य औपचारिक रूपमा सुरु गरिएको छ । आधुनिक प्रविधिमार्फत सेवा प्रवाह र सुशासनलाई डिजिटल रूपान्तरण गर्ने लक्ष्यसहित भेरी नगरपालिका–६ बाट अनलाइन नागरिकता सिफारिस तथा वितरण प्रक्रिया प्रारम्भ गरिएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा भेरी नगरपालिका–६ की देनिशा सिंहलाई अनलाइन प्रणालीमार्फत सिफारिस गरिएको जिल्लाको पहिलो नागरिकता प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले हस्तान्तरण गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीले आवश्यक कागजातका लागि पटक–पटक कार्यालय धाउनुपर्ने झन्झट हट्नेछ । यसले समय र खर्च दुबैको बचत हुने र प्रशासनिक कामकाज अझ छरितो, सहज र पारदर्शी बन्ने अपेक्षा गरिएको छ ।
उहाँले भन्नुभयो, “अब नागरिकता लिनका लागि लामो समय कुर्नुपर्ने अवस्था हट्नेछ । अनलाइन प्रणालीले प्रशासनिक कामलाई सहज र छरितो बनाउनेछ ।” भेरी नगरपालिका–६ बाट सुरु गरिएको यो प्रणालीलाई क्रमशः जिल्लाका अन्य स्थानीय तहका सबै वडासम्म विस्तार गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका क्रममा भेरी नगरपालिका प्रविधिमैत्री प्रशासन निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्दै नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भन्नुभयो, “अनलाइन प्रणालीबाट शुरु गरिएको नागरिकता सिफारिस र वितरण हाम्रो डिजिटल नगरको दिशामा उठाइएको ठूलो कदम हो । यसले नागरिकलाई नजिक र सहज सेवा दिनेछ र सुशासन स्थापनामा टेवा पुग्नेछ ।”

यस प्रणालीमार्फत नागरिकका अनुसूचीसहितका सबै कागजातहरू डिजिटल रूपमा सुरक्षित रहने र जिल्ला प्रशासन कार्यालयबाट छिटो तथा पारदर्शी ढङ्गले नागरिकता वितरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया