निर्माण सामग्री महँगिएपछि व्यवसायी सडकमा : निर्माण क्षेत्र बचाउन सरकारसँग माग गर्दै निर्माण व्यवसायी संघ जाजरकोटद्वारा धर्ना कार्यक्रम

व्यवसायीहरूले मूल्य समायोजन नगर्दा निर्माण आयोजना प्रभावित हुनुका साथै व्यवसायी आर्थिक संकटमा परेको गुनासो गरेका छन्। निर्माण क्षेत्रले लाखौँ नागरिकलाई रोजगारी दिएको र मुलुकको विकास निर्माणसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ।

जाजरकोट, वैशाख ३१ । निर्माण सामग्री तथा इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ जाजरकोटले धर्ना कार्यक्रम आयोजना गरेको छ।

सरकारले निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार लागत समायोजन नगरेपछि जिल्लाका निर्माण व्यवसायीहरू सडकमा उत्रिएका हुन्। संघले आयोजना गरेको धर्ना कार्यक्रममा व्यवसायीहरूले डिजेल, बिटुमिन, सिमेन्ट, रड लगायतका सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण कार्य सञ्चालन गर्न कठिन भएको बताएका छन्।

व्यवसायीहरूले मूल्य समायोजन नगर्दा निर्माण आयोजना प्रभावित हुनुका साथै व्यवसायी आर्थिक संकटमा परेको गुनासो गरेका छन्। निर्माण क्षेत्रले लाखौँ नागरिकलाई रोजगारी दिएको र मुलुकको विकास निर्माणसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ।

यसैबीच, निर्माण व्यवसायी संघ जाजरकोटले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। संघका महासचिव भिम बहादुर शाहले हस्ताक्षर गरेको उक्त पत्र आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीलाई हस्तान्तरण गरिएको हो।

ध्यानाकर्षण पत्रमार्फत व्यवसायीहरूले लागत समायोजन, समयमै भुक्तानी, बैंक ब्याज तथा जरिवानामा सहुलियत, निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको सम्बोधन तथा निर्माण क्षेत्रमैत्री नीति लागू गर्न सरकारसँग माग गरेका छन्।

निर्माण व्यवसायी संघ जाजरकोटका पदाधिकारीहरूले सरकारबाट माग सम्बोधन नभए जिल्लासहित देशभरका निर्माण कार्य प्रभावित हुने चेतावनी दिएका छन्। कार्यक्रममा जिल्लाका विभिन्न निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया