जाजरकोटको छेडागाडमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर : २ सय ५८ जना लाभान्वित

जाजरकोट । नेपाली सेनाले दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै जाजरकोटको छेडागाड नगरपालिकामा बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य सेवाको अभाव झेलिरहेका स्थानीय नागरिकलाई गाउँमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट २ सय ५८ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

श्री उत्तर पश्चिम पृतना हे.क्वा. अन्तर्गत श्री भवानीदल गणको आयोजनामा छेडागाड नगरपालिका–५ बडावनस्थित नगर अस्पताल परिसरमा गत आइतबार उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा नेपाली सेना, जिल्ला अस्पताल जाजरकोट तथा नगर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।

शिविरमा बालरोग, महिला तथा प्रसूति रोग, दीर्घरोग, हाडजोर्नी, जनरल फिजिसियन लगायतका विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो। स्थानीयवासीले स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक उपचार सेवा निःशुल्क रूपमा प्राप्त गरेका थिए। उपचार सेवा लिनेमा १ सय ५८ महिला र १ सय पुरुष रहेका छन्।

विशेष गरी दुर्गम बस्तीका नागरिकले लामो दूरी पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी उत्साहित भएका थिए। शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका तथा दीर्घरोगीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाली सेनाका अनुसार शिविरमार्फत ५२ प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ। सामान्य स्वास्थ्य समस्यादेखि जटिल प्रकृतिका रोगहरूको प्रारम्भिक परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो। केही बिरामीलाई थप उपचारका लागि अस्पतालमा रेफर गरिएको जनाइएको छ।

स्वास्थ्य शिविरको निरीक्षणका क्रममा श्री नं. ४ बाहिनी अड्डाका नि. बाहिनीपति, छेडागाड नगरपालिकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, श्री भवानीदल गणका गणपति, सुरक्षा निकायका प्रमुख तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले स्वास्थ्य शिविरको अवलोकन गर्दै सेवाग्राहीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

कार्यक्रममा बोल्दै छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले दुर्गम क्षेत्रमा सञ्चालन गरिएको यस्तो शिविरले स्थानीय नागरिकलाई ठूलो राहत पुगेको बताए। उनले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएकोमा नेपाली सेनाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवा विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।

स्थानीयवासीहरूले समेत नेपाली सेनाले दुर्गम क्षेत्रमा पुगेर स्वास्थ्य सेवा सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन्। आर्थिक अवस्था कमजोर भएका तथा नियमित उपचार सेवाबाट वञ्चित नागरिकका लागि यस्तो शिविर प्रभावकारी बनेको उनीहरूको भनाइ थियो।

नेपाली सेनाले देशका विभिन्न दुर्गम क्षेत्रमा समय–समयमा स्वास्थ्य शिविर, विपद् उद्धार, जनचेतनामूलक कार्यक्रम तथा मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। छेडागाडमा सञ्चालन गरिएको यो स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई राहत दिनुका साथै राज्यप्रतिको भरोसा अझ मजबुत बनाएको स्थानीयको प्रतिक्रिया रहेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया