
जाजरकोट । जाजरकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब ८ः३० बजेको समयमा छेडागाड नगरपालिका-१३ कार्कीगाउँबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०१९७ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–८ चौखेढुङ्गा स्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार गाडी सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा सवार ७ जना गम्भीर घाइते भएका छन् भने चालक सकुशल रहेका छन् । घटनापछि चालक भेरी नगरपालिका ९ निवासि खिमराज केसिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा भेरी नगरपालिका-७ निवासी २५ वर्षीया लिला विक, २७ वर्षीया भावना विक, २८ वर्षीया तृष्णा विक, २७ वर्षीया तुलसा मल्ल, २६ वर्षीय आशिष विक, भेरी नगरपालिका-९ निवासी ३१ वर्षीय कमलराज घर्ती र २२ वर्षीय कमल परियार रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ । इलाका प्रहरी कार्यालय जगतीपुरका प्रहरी सहायक निरीक्षक कविराम जैसीको नेतृत्वमा गएको ४ सदस्यीय प्रहरी टोलीले उद्धार तथा घटनाको सहजीकरण गरेको थियो ।
हाल घटनाबारे थप अनुसन्धान तथा प्रहरी मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ जेष्ठ १३ गते बुधवार