
जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले शान्ति सुरक्षा कायम राख्ने अभियानअन्तर्गत दुई फरक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ भने अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई समेत पक्राउ गरी कारागार पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कुशे गाउँपालिका ४ का मोहन विक्रम शाही रहेका छन् । उनले कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकी भवनभित्र एक महिलामाथी अभद्र व्यवहार तथा कुटपिट गरेका थिए ।
त्यस्तै अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका कुशे गाउँपालिका–५ का गोविन्द बहादुर चन्दलाई पक्राउ गरी कारागार चलान गरिएको छ । जिल्ला अदालतको २०८० जेठ २८ गतेको फैसलामा २६ दिन कैद सजाय तोकिएकोले चन्दलाइ पक्राउ गरि कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले बताउनुभयो ।
डीएसपी पुरीका अनुसार पक्राउ परेका शाहीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको छ । “कानुनभन्दा माथि कोही छैन । कानुन विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइन्छ,” प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
प्रहरीको पछिल्लो सक्रियताले जिल्लामा कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सहयोग पुगेको स्थानीयवासीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले आगामी दिनमा पनि फरार प्रतिवादी खोजी, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम राख्ने कार्यलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।






द मालिका पोष्ट । २०८३ जेष्ठ १८ गते सोमवार