
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-११ शान्तीचौरस्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सोही स्थानका ५५ वर्षीय तुलबहादुर बुढा बुधबार साँझ करिब ६ बजे घरदेखि करिब ३०० मिटर टाढा रहेको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदुबाट प्रहरी हवल्दार रामबहादुर सुनारको कमाण्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धानसँगै आवश्यक मुचुल्का प्रक्रिया अगाडि बढाएको छ।
हालसम्म मृतकको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमाण्डमा सोको अपराधस्थल अनुसन्धान अधिकृत सहित पाँच सदस्यीय टोली समेत घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ र वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्नेछ।
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन जारी रहेको जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ जेष्ठ २० गते बुधवार