
जाजरकोट । जाजरकोटको छेडा बजारमा सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
अस्थायी ट्राफिक पोस्ट छेडा इन्चार्ज प्रहरी हवल्दार सुदिप के.सी.को पहल तथा प्रहरी चौकी छेडा, जाजरकोटसँगको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीयवासी, होटल व्यवसायी, चालक, सहचालक तथा यात्रुहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, लेन अनुशासनको पालना तथा सवारी दुर्घटनाबाट बच्ने उपायबारे जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा चालक तथा सहचालकलाई सवारी साधन निर्धारित गति तथा ट्राफिक नियमअनुसार सञ्चालन गर्न, यात्रुको सुरक्षामा विशेष ध्यान दिन र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरिएको थियो। होटल व्यवसायीहरूलाई यात्रुवाहक सवारी साधनलाई व्यवस्थित रूपमा पार्किङ गरी यात्रुहरूलाई सेवा दिन तथा सडक क्षेत्रमा अनावश्यक अव्यवस्था सिर्जना हुन नदिन अनुरोध गरिएको थियो।
त्यस्तै पैदल यात्रुहरूलाई सडक पार गर्दा दाहिने–बायाँ हेरेर, सुरक्षित रूपमा लेन अनुशासन पालना गरी बाटो काट्न सचेत गराइएको थियो। बजार क्षेत्रमा बाख्रा, कुखुरा, गाई–गोरु लगायत चौपायाहरू जथाभावी छोड्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीयलाई आग्रह गरिएको थियो।

कार्यक्रममा प्रहरी चौकी छेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) लालु सिंह ले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताउँदै चालक, यात्रु, व्यवसायी तथा स्थानीय समुदायले ट्राफिक नियमको पालना गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो।
इन्चार्ज सुदिप के.सी.ले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो। स्थानीयले पनि यस्ता कार्यक्रमले सडक सुरक्षाबारे सचेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असार ८ गते सोमवार