
जाजरकोट, साउन १३। जाजरकोटमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका तीन जना बिरामी परेका छन्।
जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी ५२ वर्षीय रत्नजंग शाह, उनकी श्रीमती ४२ वर्षीया कमला शाह र २४ वर्षीय छोरा सन्तोष शाह जंगली च्याउ पकाएर खाएपछि बिरामी परेका हुन्।
प्रहरीका अनुसार साउन १२ गते मंगलबार राति करिब १०:५० बजे जंगली च्याउ सेवन गरेलगत्तै उनीहरूमा बान्ता हुनेलगायत विषाक्तताको लक्षण देखिएको थियो। त्यसपछि उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको थियो।
जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि थप विशेषज्ञ उपचार आवश्यक देखिएकाले तीनै जनालाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूको थप उपचार सुर्खेतमा भइरहेको छ।
वर्षायाममा जंगलमा उम्रिने कतिपय च्याउ विषालु हुने भएकाले पहिचान नभएका वा जंगली च्याउ सेवन नगर्न स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायले आग्रह गरेका छन्। यस्ता च्याउ सेवन गरेपछि बान्ता, पेट दुख्ने, रिंगटा लाग्ने, बेहोस हुनेलगायतका समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
विशेषगरी वर्षायाममा जंगली च्याउ संकलन र सेवन गर्ने चलन रहेकाले सर्वसाधारणलाई सचेत र सावधान रहन सम्बन्धित निकायले अपिल गरेको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ साउन १३ गते बुधवार