
जाजरकोट । जिल्ला सदरमुकाम खलंगाका विभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा शान्तिचौतारा, थाप्ले, ठाँटी बजार र गैरीखाली क्षेत्रका ठूला तथा साना पसलमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थलगायतका उपभोग्य सामग्री बरामद गरिएको छ। बरामद गरिएका म्याद गुज्रेका सामग्रीको कुल मूल्य ६० हजार ७७० रुपैयाँ रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनाएको छ। बरामद सामग्रीलाई सम्बन्धित निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ।

बजार अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका खाद्य तथा उपभोग्य वस्तुको म्याद, मूल्य, गुणस्तर, लेबलिङ, भण्डारणको अवस्था तथा मूल्यसूची लगायतका विषयमा निरीक्षण गरिएको थियो। त्यस्तै, सामग्रीमा उत्पादन मिति, उपभोग्य मिति र मूल्य स्पष्ट रूपमा उल्लेख भए–नभएको तथा व्यवसायीले खरिद–बिक्रीको बिलबिजक जारी गर्ने गरेको वा नगरेको विषयमा समेत अनुगमन गरिएको थियो।

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा म्याद गुज्रेका र गुणस्तरहीन सामग्रीको बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।
उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यवसायीले अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने, खरिद–बिक्रीको बिल वा रसिद उपलब्ध गराउनुपर्ने, म्याद गुज्रेका सामग्री बिक्री नगर्नुपर्ने तथा खाद्य वस्तुको उचित भण्डारण गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको थियो।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख जयराम बजगाईंका अनुसार विभिन्न सरकारी तथा सरोकारवाला निकायको सहभागितामा संयुक्त रूपमा बजार अनुगमन गरिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, भेरी नगरपालिका, कृषि विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी थिए।
अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हित संरक्षणसम्बन्धी प्रचलित कानुनको पालना गर्न, पसलमा स्पष्ट मूल्यसूची राख्न, म्याद गुज्रेका वस्तु बिक्री नगर्न तथा खाद्य सामग्रीको उचित भण्डारणमा विशेष ध्यान दिन सचेत गराइएको थियो।
चाडपर्वको समयमा बजारमा भीडभाड र खरिद–बिक्री बढ्ने भएकाले उपभोक्तालाई पनि सामान खरिद गर्दा मूल्य, उत्पादन मिति, उपभोग्य मिति, लेबल तथा गुणस्तर जाँच गर्न अनुगमन टोलीले आग्रह गरेको छ। आफूले खरिद गरेको सामानको बिल वा रसिद अनिवार्य रूपमा लिन तथा मूल्यमा अस्वाभाविक फरक देखिएमा सम्बन्धित निकायमा जानकारी गराउनसमेत उपभोक्तालाई आग्रह गरिएको छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आगामी दिनमा पनि खलंगासहित जिल्लाका विभिन्न बजार क्षेत्रमा नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। विशेषगरी चाडपर्वलाई लक्षित गर्दै बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रणमा अनुगमन केन्द्रित गरिने कार्यालयले जनाएको छ।






राजेन्द्र केसी । २०८३ असोज १४ गते बुधवार