एमाले भेरी नगरकमिटीको १० औँ बैठक तथा शुभकामना आदान-प्रदान कार्यक्रम

जाजरकोट । जाजरकोटमा नेकपा (एमाले) भेरी नगरकमिटीको १० औँ बैठक तथा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ र छठ पर्व २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
भेरी नगरपालिका–१३ कुदुमा बुधबार आयोजित कार्यक्रममा नेकपा (एमाले) भेरी नगरकमिटीका अध्यक्ष मुकुन्दप्रसाद शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य नारायण घर्ती र एमाले जाजरकोटका पार्टी अध्यक्ष विश्वबिक्रम शाहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी एमालेका नेता तथा कार्यकर्ताले चाडपर्वका अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्दै पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने विषयमा छलफल गरेका थिए। कार्यक्रममा पार्टी केन्द्रबाट प्राप्त सन्देश, संगठन सुदृढीकरण तथा आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको नगर कमिटीका अध्यक्ष शर्माले बताए ।
‘पार्टीलाई सुदृढ, सक्रिय र जनमुखी बनाऔं’ भन्ने मूल सन्देशसहित आयोजना गरिएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासँग प्रत्यक्ष जोडिएर स्थानीय तहमा पार्टी संगठनका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।


कार्यक्रममा केन्द्रीय सदस्य नारायण घर्तीले पार्टी संगठनलाई जनताको आवश्यकता र स्थानीय समस्यासँग जोडेर अघि बढाउनुपर्ने बताए। उनले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी एकता र समन्वय कायम गर्दै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, जिल्ला कमिटीका अध्यक्ष विश्वबिक्रम शाहले चाडपर्वले सामाजिक सद्भाव, आपसी भाइचारा र एकतालाई बलियो बनाउने बताए। उनले पार्टीका गतिविधिलाई जनताको घरदैलोसम्म पुर्‍याउँदै स्थानीय तहमा संगठनलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखे।


नगरकमिटी अध्यक्ष मुकुन्दप्रसाद शर्माले पार्टीको नियमित सांगठनिक गतिविधिसँगै चाडपर्वको शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले एमालेको संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या र सवालमा केन्द्रित भएर अघि बढ्ने बताए।
कार्यक्रममा भेरी नगरकमिटीका पदाधिकारी विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया