जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी बुद्धिसागर पुरीले बताए ।
दुर्घटनामा दिलबहादुर भण्डारी र उनका चार वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन्। दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ भने शिशिरको टाउको र हातमा चोट लागेको छ। त्यस्तै, जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटाको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक पुरीले बताए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान २ बजेर १५ मिनेटमा प्रहरी चौकी जुनीचाँदेबाट प्रहरी सहायक निरीक्षक किरण रानाको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल प्रहरी चौकी जुनीचाँदेबाट करिब सात किलोमिटर पूर्व–उत्तरमा पर्छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






रेशम बहादुर खड्का । २०८३ असोज २९ गते बिहिवार