नेवि संघको ५६ औं स्थापना दिवसमा जाजरकोटमा वृक्षारोपण र फलफूल वितरण


जाजरकोट। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जाजरकोटले आज आफ्नो ५६ औं स्थापना दिवस विविध सामाजिक र वातावरणीय कार्यक्रमहरू आयोजना गर्दै भव्य रूपमा मनाएको छ।

स्थापना दिवसको अवसरमा संघले सदरमुकाम खलंगास्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ भने छेडागाडस्थित जनज्ञाकुञ्ज क्याम्पसमा पनि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। त्यसैगरी, नलगाड बहुमुखी क्याम्पस, नलगाडमा संघले नगर अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै सामाजिक सेवामा सक्रिय सहभागिता जनाएको छ।

विसं २०२७ साल वैशाख ६ गते स्थापना भएको नेवि संघले स्थापना कालदेखि नै लोकतन्त्र, मानवअधिकार, शैक्षिक सुधार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ।

संघका अध्यक्ष अनिश कार्कीका अनुसार, यस वर्षको स्थापना दिवस विशेष कार्यक्रममार्फत जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको हो। उनले भने, “कार्यक्रमहरूले विद्यार्थीहरूमा वातावरणीय संरक्षणप्रतिको सक्रियता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता उजागर गर्ने अपेक्षा गरिएको छ।”

कार्यक्रम सफल बनाउन सबै सम्बन्धित निकायहरूलाई सहयोग गर्न आग्रह गर्दै अध्यक्ष कार्कीले सबैलाई सक्रिय, उत्साही र ऐक्यबद्ध सहभागिता जनाउन अपिल गरेका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया