
जाजरकोट । जाजरकोट कारागारमा एक थुनुवाले आत्महत्या गरेका छन्।
भेरी नगरपालिका–१० निवासी २७ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माले जानकारी दिए।
डीएसपीका अनुसार बुढा २०८१ चैत ५ गते जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पपक्षका लागी थुनामा राखिएका थिए र मुद्दाको अन्तिम फैसलाअघि नै उनले आत्महत्या गरेका हुन्।
“घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ,” डीएसपीले भने, “घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ र आवश्यक प्रमाण संकलन भइरहेको छ।”
उनको आत्महत्याको कारण खुल्न बाँकी रहेकाले घटनाको पृष्ठभूमि र सम्भावित कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ।
यो घटनाले कैदीहरूको मानसिक स्वास्थ्य र कारागार व्यवस्थापनप्रतिको चुनौतीलाई पुनः उजागर गराएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ बैशाख २८ गते आइतवार