कर्णालीको आवाज राष्ट्रिय मञ्चसम्म: जाजरकोटकी सुमी खड्का ‘द स्पिकिङ टाइटन’को फाइनलमा

कर्णाली प्रदेशको जाजरकोटबाट उदाएकी सुमी खड्काले राष्ट्रियस्तरको चर्चित रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को टप ६ फाइनलिस्टमा आफ्नो स्थान सुरक्षित गरेकी छिन्। कर्णाली प्रदेशबाट फाइनलसम्म पुग्ने उनी यस सिजनकी एकमात्र प्रतिस्पर्धी बनेकी छिन्।

हाल चार्टर्ड एकाउन्टेन्सी (CA) अध्ययन गर्दै पेशागत रूपमा पनि कार्यरत खड्काले देशभरका हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल यात्रा तय गरेकी हुन्। यस सिजनमा डिजिटल अडिसनमार्फत ३ हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए। तीमध्येबाट छनोट हुँदै उनले फिजिकल अडिसन, सर्वाइवल राउन्ड, ‘कठिन परीक्षा’ लगायत विभिन्न चुनौतीपूर्ण चरणहरू सफलतापूर्वक पार गरिन्।

टप ५० बाट टप ३०, टप २०, टप १५, टप १० हुँदै अन्ततः टप ६ अर्थात् ग्रान्ड फिनालेसम्म पुग्न सफल खड्काको यो उपलब्धिलाई कर्णाली प्रदेशकै गर्वको विषयका रूपमा हेरिएको छ।

कर्णालीको नामसँग अविकास, गरिबी, अवसरको कमी र अशिक्षा जोडेर हेर्ने प्रचलित धारणा रहेको अवस्थामा खड्काको उपस्थितिले त्यो सोचलाई तोड्ने प्रयास गरिरहेको छ। उनको बुलन्द आवाजले कर्णालीका युवाहरूमा सम्भावना र आत्मविश्वासको नयाँ सन्देश प्रवाह गरिरहेको छ।


फाइनलअघि प्रतिक्रिया दिँदै खड्काले भनिन्,

“कर्णालीका युवाहरू पनि सपनासहित उठ्न सक्छन्, कर्णालीले पनि राष्ट्रिय मञ्चमा आफ्नो आवाज बुलन्द गर्न सक्छ भन्ने देखाउन पाउनु मेरो लागि गर्वको कुरा हो।”

हाल उनी ग्रान्ड फिनालेको तयारीसँगै देशभरका दर्शकसँग समर्थन र भोटको अपील गरिरहेकी छिन्।

उनको भनाइ छ,

“यो मेरो मात्र जित होइन, यो कर्णालीको जित हो, यो जाजरकोटको जित हो। मलाई जिताउन तपाईंहरूको भोट र साथ आवश्यक छ। मलाई जिताउनु भनेको कर्णालीलाई आवाज दिनु हो।”

फाइनल नजिकिँदै जाँदा सुमी खड्काको उपस्थितिले नै कर्णालीको विजयको संकेत गरिरहेको छ। अब सारा देशको ध्यान यस प्रश्नमा केन्द्रित भएको छ—

के जाजरकोटका डाँडाबाट उठेको यो आवाज राष्ट्रिय शीर्षक बनेर प्रतिध्वनित हुनेछ?




  • फेसबुकबाट तपाईको प्रतिक्रिया