
जाजरकोट, वैशाख ५ । विश्व सडक सुरक्षा सप्ताह–२०८३ को अवसरमा कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा नलगाड नगरपालिका–५ दल्लीस्थित श्री नलगाड बहुमुखी क्याम्पस मा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा क्याम्पसका करिब ९०/९५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोगसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको प्रशिक्षण जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)नन्द बिष्ट हो हजुरले दिनुभएको थियो।

प्रशिक्षणका क्रममा प्र.स.नि. बिष्टले ट्राफिक नियमको पालना, पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, सवारी साधन चलाउँदा आवश्यक सुरक्षा उपाय, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, ट्राफिक संकेतहरूको महत्व तथा दुर्घटना न्यूनीकरणका विभिन्न उपायबारे जानकारी गराउनुभएको थियो। उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सबै नागरिकको सचेत सहभागिता आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई ट्राफिक अनुशासन पालना गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सडक सुरक्षासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने प्रशिक्षकले उनीहरूका प्रश्नहरूको जवाफ दिँदै व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षाप्रति सकारात्मक सोचको विकास हुनुका साथै सुरक्षित सडक संस्कृतिको निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
आयोजकका अनुसार विश्व सडक सुरक्षा सप्ताह–२०८३ अन्तर्गत सञ्चालन गरिएका यस्ता जनचेतनामूलक कार्यक्रमहरूले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






द मालिका पोष्ट । २०८३ जेष्ठ ६ गते बुधवार