
जाजरकोट, जेठ ५ — डोल्पाको मुडकेचुला गाउँपालिकामा नौ वर्षपछि पहिलो पटक वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय तहको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) परियोजनाको सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सहजिकरणमा मुडकेचुला गाउँपालिकाका वडाहरूमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको वडा नं. २ र ५ मा पहिलो चरणमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको जनाइएको छ । वडा नं. ५ का वडा अध्यक्ष इच्छा बहादुर शाहीले आफू निर्वाचित भएको पाँच वर्ष पुग्न लाग्दा पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताप्रति जवाफदेही बन्न सार्वजनिक सुनुवाइ आवश्यक रहेछ भन्ने महसुस भएको छ । वडाले गरेका कामको प्रगति जनतामाझ राख्ने र जनताका गुनासा सुन्ने अवसर मिल्यो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।”
त्यसैगरी वडा नं. २ का अध्यक्ष जग बहादुर सार्कीले पनि पहिलो पटक यस्तो अभ्यास गरिएको उल्लेख गर्दै आगामी वर्षदेखि सार्वजनिक सुनुवाइका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकालको अन्तिम वर्ष भए पनि यो राम्रो अभ्यासको सुरुवात भएको छ । सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।”
कालिका स्वास्थ्य चौकीका इन्चार्ज देवबहादुर खत्रीले आफू चार वर्षदेखि कार्यरत रहे पनि वडास्तरमा यस्तो सार्वजनिक सुनुवाइ पहिलो पटक देखेको बताउनुभयो । उहाँले हरेक वर्ष नियमित रूपमा सार्वजनिक सुनुवाइ हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यसअघि गाउँपालिका स्तरमा मात्र सार्वजनिक सुनुवाइ हुने गरे पनि वडास्तरमा भने अभ्यास भएको थिएन । कार्यक्रमपछि वडाहरूले सेवा प्रवाह सुधार गर्ने र जनउत्तरदायी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
परियोजना संयोजक भिमबहादुर नेपालीका अनुसार कानूनी पहुँच, जवाफदेहिता र जनमुखी न्यायका लागि महिला तथा सीमान्तकृत समुदायको सशक्तिकरण परियोजना अन्तर्गत मुडकेचुला गाउँपालिकाका सबै नौ वटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको हो ।






द मालिका पोष्ट । २०८३ जेष्ठ ६ गते बुधवार