जाजरकोटमा बाढी–पहिरोको जोखिम बढेपछि सांसद बुढाको अपिल : उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन आग्रह

जाजरकोट । अविरल वर्षाका कारण जाजरकोट जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानबाट जनधनको क्षति भएपछि माननीय सांसद खडक बहादुर बुढाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न अपिल गरेका छन्।

सांसद बुढाले शनिबार आफ्नो फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै विशेषगरी भेरी नगरपालिका–२, रिसाङमा गएको ठूलो पहिरोका कारण घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र मानवीय क्षतिसमेत भएको हुनसक्ने आशंका रहेको उल्लेख गरेका छन्। गाईवस्तु, घर, खेतबारी लगायतमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताएका छन्।

विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सांसद बुढाको भनाइ छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको उनले बताएका छन्।

“पीडित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु नै अहिलेको आवश्यकता हो,” विज्ञप्तिमा भनिएको छ।

जिल्लाका विभिन्न भूभागमा अझै भारी वर्षा भइरहेको र थप बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले जोखिमयुक्त स्थानमा नबस्न तथा उच्च सतर्कता अपनाउन सांसद बुढाले जिल्लावासीलाई आग्रह गरेका छन्।

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्धारकर्मी लगायत सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जानकारी दिएका छन्। विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति उनले सम्मान तथा आभार व्यक्त गरेका छन्।

जाजरकोटवासीको दुःख र पीडामा आफू सधैँ साथमा रहेको उल्लेख गर्दै सांसद बुढाले विपद्को कठिन समयमा सबै एकजुट भएर प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गरेका छन्।

“सबै सुरक्षित रहौँ, सचेत रहौँ। विपद्को सामना एकताबद्ध भएर गरौँ,” उनले अपिल गरेका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया