
जाजरकोट । नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूले आफ्ना हक, अधिकार तथा सेवा-सुविधाका माग राख्दै यही ८ गते काठमाडौंमा आन्दोलन गर्ने भएका छन्।
नेपालका १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र, १ वटा शिकार आरक्ष र १ वटा वन्यजन्तु आरक्ष गरी २० वटै संरक्षित क्षेत्रका श्रेणीविहीन कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ। आन्दोलन काठमाडौंस्थित सिंहदरबारको बाहिरी गेटमा हुने जनाइएको छ।
आन्दोलन कार्यक्रमको अगुवाइ कर्णराज बुढा, मदन भण्डारी, प्रतीक मल्ल र गणेश कार्कीको कमाण्डमा हुने भएको छ।
आयोजकहरूले सबै संरक्षित क्षेत्रका कार्यालय तथा पोस्टमा कार्यरत कर्मचारीलाई आवश्यक समन्वय गरी कार्यालय तथा पोस्ट खाली गरेर भए पनि आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।
श्रेणीविहीन कर्मचारीहरूले आफूहरू ५३ वर्षदेखि विभिन्न समस्या र अधिकारविहीन अवस्था भोग्दै आएको भन्दै आफ्ना माग सम्बोधनका लागि निर्णायक रूपमा आवाज उठाउन आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन्।
आयोजकहरूले २० वटै संरक्षित क्षेत्रका श्रेणीविहीन कर्मचारीलाई काठमाडौंमा उपस्थित भई आन्दोलनलाई सफल बनाउन अनुरोध गरेका छन्।






द मालिका पोष्ट । २०८३ भाद्र ३ गते बुधवार