
रेशम बहादुर खड्का ।
जाजरकोटमा संविधान दिवस २०८३ विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइएको छ । संविधान दिवसको अवसरमा शनिबार सदरमुकाम खलंगामा प्रभातफेरीसहित कोणसभा आयोजना गरिएको हो । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी,सुरक्षाकर्मी,राजनीतिक दलका प्रतिनिधि,नागरिक समाज, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । शनिबार बिहान तल्लो थाप्ले देखि राष्ट्रिय झण्डा तथा संविधान दिवससम्बन्धी सन्देश लेखिएका प्लेकार्डसहित प्रभातफेरी निकालिएको थियो । विभिन्न नारासहित निकालिएको प्रभातफेरी सदरमुकामका विभिन्न क्षेत्र परिक्रमा गर्दै गैरखालीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानको महत्व,संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार तथा संविधानको प्रभावकारी कार्यान्वयनका विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले संविधान दिवसलाई औपचारिक रूपमा मनाउनेभन्दा पनि संविधानले दिएका अधिकार र राज्यका दायित्वबारे नागरिकमा जानकारी गराउने अवसरका रूपमा लिनुपर्ने बताए । उनले नेपालको संविधानले लामो राजनीतिक संघर्ष र जनताको बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गरेको बताए । संविधानले संघीयता,लोकतन्त्र,गणतन्त्र,समावेशिता,सामाजिक न्याय तथा नागरिकका मौलिक हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै संविधानको वास्तविक उद्देश्य पूरा हुने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढाले नेपालको संविधान राजनीतिक परिवर्तनको दस्तावेज मात्र नभई नागरिकका अधिकार, सामाजिक न्याय र समानताको आधार भएको बताए । संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढाउँदै राज्य सञ्चालनमा जनताको सहभागिता सुनिश्चित गरेको उनले बताए । बुढाले संविधानमा व्यवस्था गरिएका मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए । शिक्षा,स्वास्थ्य,रोजगारी,खाद्य सुरक्षा,आवास,सामाजिक सुरक्षा तथा समानताको अधिकार संविधानमा उल्लेख भए पनि ती अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी राज्यका संयन्त्रले काम गर्नुपर्ने उनको भनाइ थियो । उनले संविधानले सबै समुदाय,वर्ग,क्षेत्र,लिङ्ग तथा पछाडि पारिएका समूहको प्रतिनिधित्व र सहभागिताको आधार तयार गरेको उल्लेख गर्दै समावेशी राज्य निर्माणका लागि संवैधानिक व्यवस्थाको कार्यान्वयन आवश्यक रहेको बताए । संविधानको संरक्षण र कार्यान्वयन राजनीतिक दल वा सरकारको मात्रै जिम्मेवारी नभई नागरिकको पनि उत्तिकै दायित्व रहेको उनले बताए ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्रै संघीयताको अनुभूति नागरिकको घरदैलोमा पुग्ने बताए । संविधानले स्थानीय सरकारलाई सेवा प्रवाह, स्थानीय विकास र नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै स्थानीय तहले पारदर्शिता,जवाफदेहिता र जनसहभागितालाई प्राथमिकता दिनुपर्ने बताए । घर्तीले संविधान दिवसलाई औपचारिक समारोह र शुभकामना आदानप्रदानमा मात्र सीमित नगरी नागरिकको दैनिक जीवनसँग जोडिएका विषयमा काम गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । संविधानले नागरिकलाई अधिकारसँगै राज्य र समाजप्रतिको दायित्वसमेत सम्झाएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण,सरसफाइ,सामाजिक सद्भाव र जिम्मेवार नागरिक व्यवहार संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्ष भएको बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज बरालले संविधानले राज्यका निकायको जिम्मेवारी स्पष्ट पार्दै नागरिकका अधिकार सुनिश्चित गरेको बताए । संविधानले प्रत्याभूत गरेका अधिकार नागरिकले सहज रूपमा पाउने वातावरण निर्माण गर्न प्रशासनिक संयन्त्र जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो । बरालले संविधान दिवसको अवसरमा जिल्लामा आयोजना गरिएका कार्यक्रमलाई नागरिक सहभागिता र सामाजिक उत्तरदायित्वसँग जोडिएको बताए ।

संविधान दिवसको पूर्वसन्ध्यामा शुक्रबार सदरमुकाम खलंगामा बजार सरसफाइ अभियान सञ्चालन गरिएको स्मरण गर्दै उनले दिवसलाई भाषण र औपचारिक समारोहमा सीमित नगरी समाजमा सकारात्मक सन्देश दिने गतिविधिसँग जोडिएको बताए । उनका अनुसार जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय,सरकारी कार्यालय,जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा तल्लो थाप्लेदेखि गैरखालीसम्म सडक तथा सार्वजनिक स्थलको सरसफाइ गरिएको थियो । संविधान दिवसकै अवसरमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको थियो । दिवसलाई सामाजिक सेवासँग जोड्दै बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको आयोजकले जनाएको छ ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मौलिक हक, समावेशिता, सामाजिक न्याय, समानता तथा तीन तहको सरकारको संरचनालाई संस्थागत गरेको छ । संविधान दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रममार्फत जाजरकोटमा संविधानको महत्व,नागरिक अधिकार र कर्तव्य तथा संविधान कार्यान्वयनमा राज्यका विभिन्न तहको भूमिकाबारे सन्देश प्रवाह गरिएको छ ।







रेशम बहादुर खड्का । २०८३ असोज ४ गते आइतवार