जाजरकोटमा डेंगी सचेतना राष्ट्रिय अभियान सुरु


जाजरकोट । जाजरकोटमा डेंगी सचेतना राष्ट्रिय अभियान सोमबारदेखि सुरु गरिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिकाको संयुक्त आयोजनामा अभियान सुरु भएको हो ।

सोमबार जिल्ला सदरमुकाम खलंगा तल्सुलो थाप्रुलेबाट सुरु भएको र्‍याली गैरीखाल पुगेर कोणसभामा परिणत भएको थियो । भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक वलीका अनुसार साउन, भदौ र असोज महिनामा लामखुट्टे मार्फत डेंगी संक्रमण फैलिने भएकाले समयमै सचेतना अभिवृद्धि गर्न अभियान सुरु गरिएको हो । उनले भने डेंगी विरुद्धको लडाई सबैको सक्रिय सहभागिताबाट मात्र सम्भव छ र घरघरमा सचेतना फैलाउन राज्यका सबै तह लागिपरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले सरकारले साउनदेखि असोज महिना सम्मलाई डेंगी सचेतना महिना घोषणा गरेको र त्यसै अनुसार जाजरकोटमा अभियान प्रारम्भ भएको जानकारी दिए ।, उनले साउनदेखि लामखुट्टे बढ्न सुरु भई कात्तिकसम्म रहने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउनुपर्ने बताए । यस अभियान अन्तर्गत हरेक शुक्रबार ‘सफा शुक्रबार’ कार्यक्रममार्फत सार्वजनिक निकाय र संस्थामा सरसफाइ गर्ने, लामखुट्टे प्रजनन स्थल खोजी र नष्ट गर्ने कार्य हुने र ‘हप्ताको एक दिन एक घण्टा, हुँदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ भन्ने नारासहित खोज र नष्ट अभियान सञ्चालन गरिने योजना रहेको स्वास्थ्य शाखा प्रमुख वलीले बताए । साथै हरेक वडामा घरदैलो कार्यक्रम, पोस्टर र सञ्चारमाध्यममार्फत डेंगीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने, संघ, प्रदेश र स्थानीय तहबीच छलफल गरी नियन्त्रण रणनीति अघि बढाइने जनाएको छ ।
अभियानमा जिल्ला समन्वय समिति प्रमुख कालि बहादुर खत्रीको प्रमुख आतिथ्यतासहित जिल्ला स्थीत नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया